शान्ति नमुनाले मनायो ६३ औं वार्षिकोत्सव : आर्थिक समृद्धिका लागि एम.सि.सि. – गृहमन्त्री खाँड

खबरपथ संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार २१:१६

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै गृह मन्त्री बालकृष्ण खाँडले देशको आर्थिक समृद्धिका लागि एम.सि.सि. परियोजना कोसेढुगां सावित हुने बताउनु भएको छ । खेर गैरहेको जलस्रोतलाई सहि सदुपयोग गरेर त्यसबाट उत्पादन हुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान गर्न मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले देशको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी गतिविधि सञ्चालन गर्ने कुनै पनि दल वा समूहप्रति सरकार कठोर रहने बताउनुभयो । उहाँले कुनै पनि बहानामा नागरिकको ज्यान जाने अवस्था नआओस् भन्ने प्रति सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज गैरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, नेपाल सरकारका सहसचिव तथा सह न्यायाधिवक्ता मोहन सागर बस्याल, शिक्षक महासंघ रुपन्देहीका सचिव लिलाधर न्यौैपाने, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनु भएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।


वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि खटिने २४ जना शिक्षक कर्मचारीहरु र २ जना विद्यालय व्यवस्थापन समिति सदस्यलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा अक्षयकोष स्थापना गर्ने ११ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ३ वटा संस्थालाई सम्मान गरिएको थियो । यसैगरी एस.इ.इ.मा जि.पि.ए. ४ प्राप्त गर्न सफल ५ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जि.पि.ए. ३.९० भन्दा माथि प्राप्त गर्ने १६ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । त्यस्तै दाताहरुले स्थापना गर्नुभएका ६५ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ३२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै गत वर्ष एस.इ.इ. उत्तीर्ण ४ सय ४२ जना र कक्षा १२ उत्तीर्ण ३ सय ६३ जना विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।


यसैबीच मन्त्री बालकृष्ण खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे भवन, एच.एम. ल्यावको उद्घाटन गर्नुभएको छ । नमूना विद्यालय अनुदान सहयोग र आन्तरिक श्रोतबाट उक्त भवनहरु निर्माण गरिएको हो । यसैगरी मन्त्री खाँणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गर्नु भएको सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यम संयोजक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नु भएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।
विद्यालयमा हाल करिव ४३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ५० जना शिक्षक कर्मचारी कार्यरत छन् ।


यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार कृष्ण मल्ललाई पुरष्कृत गरिएको छ । स्व. फत्त बहादुर देउमती काउँचा स्मृति पत्रकारिता पुरष्कारबाट मल्ललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । बुटवल टुडे दैनिकका सम्पादक तथा शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष रहनु भएका मल्ललाई शान्ति नमुना सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रिकारिताको माध्यमबाट गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*