रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

खबरपथ संवाददाता
६ कार्तिक २०७९, आईतवार २०:१६

बुटवल । रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको हो ।

कार्यालयले चाडपर्वको समयमा बिस्फोटक जन्य पटकाहरु खरिदरबिक्री गर्ने, पड्काउने, ध्वनि तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरी देउसी खेल्न आग्रह गरेको छ ।

रातको १०:०० बजेपछि देउसी भैलो नखेल्न र देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढी रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि नगर्न नगराउन सम्पूर्ण जिल्लाबासीहरुमा जिल्ला प्रशासनले अनुरोध गरेको छ । साथै यस्ता किसिमका गतिविधि गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत सूचनामा जनाइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*