उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व विधिवत समापन

खबरपथ संवाददाता
१४ कार्तिक २०७९, सोमबार ११:०२

जनकपुरधाम। आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।

जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि
आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो । चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाइएर विशेष रुपले छठ मनाउने गरिन्छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।

ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र, बिहान पख सूर्य उदाउनु केहि बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् ।

उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठ पर्वमा विवभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

आज मधेश प्रदेशमा सार्वजनिक बिदा

छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । मिथिलाञ्चलसहित तराइ मधेशको महापर्वको रुपमा छठ मनाउने गरिएकोले मधेश सरकार आजको दिन बिदा दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*