ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

खबरपथ संवाददाता
२४ भाद्र २०८०, आईतवार १८:५२

काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।

धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग १५ लाख रहेको छ ।

त्यस्तै, घमनकुमार कार्कीसँग सात लाख ५० हजार, गोपाल कार्कीसँग सात लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग सात लाख ५० हजार, नारायणराज मिश्रसँग सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग सात लाख ५० हजार धरौटी माग गरेको हो ।

साथै, ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सकलानन्द महर्जनसँग एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार र लोकरी घिमिरेसँग एक लाख ५० हजार रहेको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*