पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी संचालन हुन समय लाग्ने

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार १३:१०

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् ।

पृथ्वीराजमार्ग अन्र्तगत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई दुई तर्फी सवारी संचालन हुन अझै समय लाग्छ ।’

सडक खुलाउन दुई ओटा जेसीबी प्रयोग भइरहेको उनले जनाए ।

पहिरो झरी राती सवा ११ बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पुर्ण रुपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*