कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

खबरपथ संवाददाता
१३ असार २०७९, सोमबार १६:४०

खोटाङ । कृषकलाई मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।

देशव्यापी जनसंघर्ष, ज्ञापन–पत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो व्यानर बोकेर झण्डै एक घण्टा भित्रबाहिर गर्नै नमिल्नेगरी कृषि ज्ञान केन्द्रको गेटमा बसेर धर्ना दिएका थिए । एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मुल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । महंगी र भ्रष्टाचारविरुद्धमा नारा लगाउदै कृषि ज्ञान केन्द्र पुगेका राप्रपाको नेता तथा कार्यकर्ताले नारा जुलुससहित नै त्रिबेणीचोक पुगेर कोणसभा गरेका छन् ।

राप्रपाले महंगी, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न, शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेदेखि संघीयता प्रादेशिक तह खारेजीसम्मको नारा लेखिएको व्यानरसहित जुलुस निकालेका थिए । राप्रपाले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमित नेपाली भूमी फिर्ता गर्न, महिला, वालबालिका तथा दलित हिंसा र विभेद अन्त्या गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर खारेज गर्न, देवनागरी लिपीमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न, इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

पार्टीकातर्फबाट सरकारसमक्ष पेश गरेका १९ बुँदे माग पूरा गर्नुपर्ने राप्रपा अध्यक्ष राईले बताए । त्रिबेणीचोकमा भएको कोणसभालाई अध्यक्ष राई र नगर कमिटि अध्यक्ष चन्द्रकुमारी राई ताराले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*