रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

खबरपथ संवाददाता
३१ आश्विन २०७९, सोमबार १२:२९

काठमाण्डौ । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी कायम नै राख्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २ गतेको पेसी तोकेको छ ।

एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

उक्त क्षेत्रका निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राती ११ बजे जारी विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए ।

आफूलाई गरिएको जरिवाना तिरेको, मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन कार्यालयले आफूलाई सुनुवाइको मौकासमेत नदिई उम्मेदवारी खारेज गर्ने निर्णय नमिलेको भन्दै गुरूङ सर्वोच्च अदालत गएका हुन् । उनले निर्वाचन कार्यालयविरूद्ध आयोगमा समेत निवेदन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*