कानून व्यवसायीहरुलाई क्षमता अभिवृद्धि तालिम
बुटवल । नेपाल कानून व्यवसायी परिषद, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलको आयोजनामा बुटवलमा कानून व्यवसायीहरुको लागि क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
बिहीबार शुरु भएको लुम्बिनी प्रदेश स्तरीय तीन दिने तालिम शनिबार समापन भएको हो । बार काउन्सिलद्वारा प्रदेश स्तरमा आयोजित यो कार्यक्रम पहिलो रहेको काउन्सिलका सदस्य अधिवक्ता बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा बोल्दै नेपाल कानून व्यवसायी परिषदका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्याय क्षेत्रको विकृति र गलत प्रवृत्तिको विरुद्धमा नेपाल बार लागिपरेको बताउनुभयो । मुद्दामामिलाका सन्दर्भमा घुस लिने र दिने प्रवृत्ति गलत रहेको भन्दै उहाँले यस्तो प्रवृत्तिले न्याय क्षेत्रमा दीर्घ कालसम्म नराम्रो असर पुग्ने औंल्याउनुभयो । ‘कानून व्यवसाय पेशामा टिक्न नसके अन्य वैकल्पिक पेशा खोजौं तर घुस दिने काम गर्दै नगरौं’ उहाँले भन्नुभयो ।
समापन कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष पशुपति भण्डारी, वरिष्ठ अधिवक्ताद्वय तेजप्रसाद कणेल र शिवप्रसाद गौडेल, उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवाली, रुपन्देही जिल्ला अदालत बारका सचिव चोलाबहादुर कार्की, तालिमका सहभागी इन्दिरा आचार्य, वीरेन्द्र बस्नेत लगायतले बोल्नुभएको थियो ।
तालिम उद्घाटन बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश नित्यानन्द पाण्डेले गर्नुभएको थियो । तालिम उद्घाटन कार्यक्रममा न्यायाधीश पाण्डे, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पशुपति भण्डारी, वरिष्ठ अधिवक्ता नेत्रबहादुर नेपाल, नेपाल बार काउन्सिलका पूर्व सदस्य वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता डा.बुद्धबहादुर थापा, वरिष्ठ अधिवक्ता गोपाल पाण्डे ‘अल्छी’, उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवाली, जिल्ला अदालत बार रुपन्देहीका अध्यक्ष शिवहरि अधिकारी लगायतले बोल्नुभएको थियो ।
तालिम समापन कार्यक्रम नेपाल कानून व्यवसायी परिषदका सदस्य बाबुराम पाण्डेको अध्यक्षता र उच्च अदालत बार एशोसिएशन बुटवलका सचिव राजन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।
१० वर्षभन्दा कम अवधि कानून व्यवसायमा रहेका लुम्बिनी प्रदेशका विभिन्न बार एकाईमा आबद्ध ३० जना कानून व्यवसायी तालिममा सहभागी रहेका थिए ।
तालिमका सहजकर्ताहरुमा वरिष्ठ अधिवक्ता एवम् बार काउन्सिलका उपाध्यक्ष गोपालकृष्ण घिमिरे, बारका उपाध्यक्ष पशुपति भण्डारी, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश नित्यानन्द पाण्डे, वरिष्ठ अधिवक्ताहरु तेजप्रसाद कणेल, शालिकराम बन्जाडे, बेनबहादुर पौडेल क्षेत्री, शिवप्रसाद गौडेल, रुपन्देही जिल्ला अदालतका न्यायाधीशहरु कृष्णराम कोइराला, उमेश कोइराला, डा. श्रीप्रकाश उप्रेती, अधिवक्ता महेन्द्र पाण्डे लगायत रहनुभएको थियो ।





















