कुनै पनि नागरिक घरबारविहीन हुने छैनन् – प्रधानमन्त्री वालेन्द्र शाह

खबरपथ संवाददाता
२१ बैशाख २०८३, सोमबार १०:००

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी जग्गामा भइरहेको व्यवस्थापन प्रक्रियालाई लिएर भूमिहीन नागरिकमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै सरकार त्यसमा गम्भीर रहेको बताएका छन्।

उनले फेसबुकमा एक सन्देश सार्वजनिक गर्दै  कसैलाई पनि घरबारविहीन नबनाइने र आवासको हक सुनिश्चित गरिने स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “सरकारले चालेका कदमहरू नागरिकलाई हटाउन होइन, आवासको हक सुनिश्चित गर्दै स्थायी समाधान निकाल्नका लागि हुन्, त्यसैले कुनै पनि भ्रममा नपर्न र अनावश्यक रूपमा नआत्तिन म सम्पूर्णमा अनुरोध गर्दछु ।”

यसै समस्याको दीर्घकालीन समाधानका लागि बाधक बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरूलाई सरकारले अध्यादेशमार्फत खारेज गरेको उनले जानकारी दिएका छन्।

कानुनी अड्चन हटेसँगै अब सरकारले वास्तविक भूमिहीन नागरिकको पहिचान गर्न डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र स्पष्ट आधारमा अभिलेख तयार पार्ने काम सुरु गरिसकेको उनको भनाइ छ। यस प्रक्रियाले भूमिहीनको वास्तविक अवस्था पहिचान गरी समस्याको पारदर्शी र दिगो समाधान निकाल्ने सरकारको विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*