प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाउनुभएको छ । बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाशी बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गर्नुभयो । संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सो खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाई छ । उहाँले प्रधानमन्त्री साहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धि कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताउनु भयो ।





















