बुटवलमा भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोवासीको सरकारविरुद्ध प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समिति रुपन्देहीको आह्वानमा बिहीबार बुटवलको राजमार्ग चौराहमा भेला भएका उनिहरुले मिलनचौक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभा गरेका थिए ।

उनिहरुले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेनको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले डोजर आतंक बन्द गर, नागरिकलाई विस्तापित होइन स्थापित गर,हाम्रो कर र मत वैध हामी बसेको जमिन कसरी अवैध, नागरिकलाई आत्महत्या गर्न बाध्य पार्ने कार्य बन्द गर, मानव अधिकारको सम्मान गर, ध्वंश हैन बाच्ने अधिकार दे, बस्ती उजाड हैन व्यवस्थापन गर, व्यवस्थापनको नाममा नजरबन्द बन्द गर, विकासको नाममा विनाश स्वीकार्य छैन लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समिति रुपन्देहीका अध्यक्ष खड्क बहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघर्ष समितिका सल्लाहकार बिरेन्द्र बिक,संघर्ष समितिका उपाध्यक्षद्धय बीरमान लामा,राजु साही,सदस्य राजकुमार भट्टराई लगायतले हाम्रो कर र मत वैध हुने हामी बसेको जमिन कसरी अवैध भन्ने प्रश्न गर्दै रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई हटाउने दुस्साहस नगर्न चेतावनी दिए ।
रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित गरी ८० हजार बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।





















