ओमानलाई हराउदै नेपाल एशियन गेम्सको छनौटको फाइनलमा

खबरपथ संवाददाता
२४ जेष्ठ २०८३, आईतवार १०:०५

काठमाडौ । जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौटमा नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्बाधिक ४४ रन बनाए भने रोहित पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन मात्रै बनाएको थियो ।

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाउन सफल भएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार खेल्ने छ । त्यस्तै ओमानले भने तेस्रो स्थानका लागि हङकङ र मलेसियाबीचको पराजित हुने टिमसँग सोमबारनै खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*