तिलोत्तमाको दीर्घायू हस्पिटल डुबानमा, समस्या समाधानका लागि संचालक पाण्डेको आग्रह

खबरपथ संवाददाता
३१ भाद्र २०८२, मंगलवार १३:२३

तिलोत्तमा । गत आइतबार रातिदेखि परेको वर्षाको कारण तिलोत्तमा — ५, मणिग्राममा रहेको दीर्घायू हस्पिटल प्रा.लि. डुबानमा परेको छ ।

पानीको निकास रोकिँदा १५ शैंयाको प्राकृतिक चिकित्सालय डुबानमा परेको हो । डुबानका कारण अस्पतालको उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई समस्या समाधान नहुञ्जेल नआउन भनिएको स्वास्थ्यकर्मीहरुले जनाए ।


अस्पताल नजिकैं बनाइएको तरकारी तथा फलफूल थोक बजारको पर्खालले पानीको निकास रोकेपछि डुबानको समस्या निम्तिएको सञ्चालक नारायण प्रसाद पाण्डेले बताउनुभयो ।

आकाशे पानीको निकास रोकिँदा अस्पताल मात्र होइन त्यहाँसम्म पुग्ने सडक र आसपासको क्षेत्र नैं जलमग्न भएको छ । निकास रोकिएपछि दीघार्यू हस्पिटल उत्तरमा रहेको एफ.एम. टोलका सडकमा समेत पानी बग्ने गरेको छ ।

अघिल्ला वर्षहरुमा पनि डुबानको समस्या हुने गरेको र यसबारेमा स्थानीय वडा र पालिकामा जानकारी गराउँदा समेत समस्या समाधानका लागि खासै पहल नभएको पाण्डेले गुनासो गर्नुभयो ।

डुबानले अस्पतालमा रहेका सबै संरचनालाई प्रभावित पारेको छ । अस्पताल जनताकैं सेवाका लागि स्थापना भएकोले यस्तो विषयमा स्थानीय सरकारले आवश्यक पहलकदमी लिनुपर्ने स्थानीय बासिन्दा समेत रहनुभएकी योग प्रशिक्षक उमा ढकालले बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको प्राकृतिक चिकित्सालयमा विभिन्न रोगहरुको प्राकृतिक चिकित्सा, फिजियोथेरापी, हाइड्रो थेरापीको माध्यमबाट उपचार हुँदै आएको छ । डुबानको कारण नियमित उपचारमा आउनुपर्ने बिरामीहरु समस्यामा परेको चिकित्सक प्रभाकर दुवेले बतानुभयो ।

स्थानीय बासिन्दाले नियमित गर्ने योगा समेत प्रभावित भएको छ ।

तिलोत्तमा वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रेले डुबानको समस्या समाधानका लागि हाल विद्युत्को पोल गएको स्थानबाट कुलो निकाल्ने विषयमा छलफल भैरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*