३५ दिनमा नै कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।
परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको यो पहिलो पटक हो । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
प्रकाशित नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ६५ हजार १९० जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीको ६४.१३ प्रतिशत हो। नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३० जनाको परीक्षा रद्द गरिएको छ भने २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । नियमिततर्फ ग्रेड प्राप्त गर्ने प्रतिशत ६९.७५ रहेको बोर्डले जनाएको छ।
यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा १० जनाको परीक्षा रद्द गरिएको छ। आंशिकतर्फ ३६ हजार ४२० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो ४२.३८ प्रतिशत हो।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १-१ केन्द्र निर्धारण गरिएको थियो ।
गत वैशाख १४ देखी २७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।





















