रुपन्देहीमा असार १४ गतेसम्म निषेधआज्ञा थपियो, नीजि सवारी जोर-विजोर प्रणालीमा चल्न पाउने
बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा आगामी असार १४ गतेसम्म थपिएको छ । सोमबार बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा आगामी असार १४ गते राती १२:०० बजे सम्मका लागी निषेधआज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधआज्ञाको अवधिमा जिल्लामा नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा खुकुलो पारिएको छ । तर सवारी साधन चल्दा जोर-विजोर प्रणाली अनुसार चल्नु पर्नेछ । जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्नेछ । सार्वजनिक सवारी साधन भने खुल्ला गरिएको छैन ।
निषधआज्ञाको अवधिमा जिल्लामा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि भेला भिडभाड, महोत्सव, जात्रा सञ्चालन गर्न,सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन । त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पाइने छैन भने -आन्तरिक नित्य पुजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटलाई पनि रोक लगाएको छ । त्यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरेको छ ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो ।



























