लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक/एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्ने गरी अनुदान उपलब्ध गराएको हो ।
संघीय कार्यक्रम अनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ ।

किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशु बीमा, आवश्यक औषधि, औजार समेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नं. १२ का पाँच वटा पशुपालन समूह मार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उहाँले नगरपालिकाले उपलब्ध गराएका सेवा/सुविधा लिन किसानलाई आग्रह गर्नुभयो ।

यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गर्नुभयो । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्ण प्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख गर्नुभयो ।






















