सञ्चार विधेयक बिरुद्ध मानव अधिकार तथा शान्ति समाजद्धारा प्रदर्शन

खबरपथ संवाददाता
२४ असार २०७८, बिहीबार २०:१६

बुटवल । मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयकको बिरोध गर्दै बिहिबार बुटवलमा प्रदर्शन गरेको छ ।
समाजले विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै फिर्ता गरेर पुनःलेखनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि प्रदर्शन गरेको हो । समाजका केन्द्रीय सभापति गोबिन्द खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्र विपरित रहेकाले फिर्ता गरी पुनर्लेखन गर्न माग गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले सरकार संविधान विपरीत स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर पञ्चायत कालीन अञ्चलाधीशको शासनको पुनरावृत्ति गर्न खोजिरहेको भन्दै फिर्ता नभए पत्रकार महासंघले सशक्त आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विधेयकको ६९ देखि ८४ नम्बर सम्मका बुँदाहरु आपत्ति जनक भएकोले विधेयक फिर्ता नगरे पत्रकार महासंघ आन्दोलित हुने बताउनुभयो ।

सञ्चार परिषदको अध्यक्ष मन्त्री र सदस्यहरु अधिकांश मन्त्रालयका कर्मचारीहरु रहने गरि बनाईएको विधेयकमा पत्रकारलाई जेल सजाय र पत्रिकाको प्रकाशन बन्द गर्न सक्ने लगायतका बुँदाहरु समेत समेटिएका छन् । उक्त विधेयकको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, जिल्ला शाखाहरु र पत्रकार सम्वद्ध संघ संगठनहरुले बिरोध गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*