रुपन्देहीमा सार्वजनिक सवारीमा जोर बिजोर र व्यवसाय सञ्चालनको समयसीमा हट्यो
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आगामी साउन १५ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधआज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा जोर–विजोर प्रणाली र व्यवसाय सञ्चालनको निश्चित समयसीमा हटाउने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण तथा उपचार एवं व्यवस्थापनलाई प्रभावकारी बनाउन २०७८ वैशाख १५ गतेको आदेश बमोजिम हुने गरी साउन १ गते बिहान ६ बजेदेखि साउन १५ गते राती १२ बजेसम्म रुपन्देही जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।
निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमा हल र हाटबजार सञ्चालन गर्न नपाइने, परम्परागत रुपमा भइ आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाइने, औषधी खरिद तथा औषधी उपचार प्रयोजनार्थ र अत्यावश्यक कामबाहेक अन्य कामका लागि नेपालीहरु बेलहिया नाकाबाट आवातजावत गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रशासन कार्यालयले विश्वविद्यालय, क्याम्पस र अन्य निकायबाट पूर्व निर्धारित परीक्षा कार्यक्रम परीक्षा सञ्चालन हुने हल तथा कोठामा २५ जना बढी नहुने गरी व्यवस्था मिलाउनु पर्ने, बढी भिडभाड हुन नदिन ‘सिफट वाइज’ परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनको क्रममा सबै परीक्षार्थी र समन्वयकर्ताले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्ने प्रत्येक सिफ्ट पछाडी परीक्षाफल अनिवार्य रुपमा निंसक्रमित गर्नुपर्ने उल्लेख गरिएको छ ।
























