तिलोत्तमाले दियो आरन व्यवसायीलाई आधुनिक औजार

खबरपथ संवाददाता
६ श्रावण २०७८, बुधबार ११:५८

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।

कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समय सापेक्ष बनाउँदै व्यवसायीको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो । त्यस अवसरमा नगर उप–प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रमहरु सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले परम्परागत पेशाको संरक्षणसँगै यो पेशा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डर लगायतका औजार प्रदान गरेको हो । पुर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं. ११ का कृष्ण बहादुर विश्वकर्माले बताउनुभयो ।

कार्यपालिका सदस्य एच. बि. रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको पाइएपछि युवाहरुलाई समेत यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो । एक दशक अघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायीहरु पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा रहेको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*