बुटवलको एक वर्षमा ५० करोड ४९ लाख राजश्व संकलन

खबरपथ संवाददाता
७ श्रावण २०७८, बिहीबार २१:०९

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७ र ७८ मा राजश्व संकलनमा उल्लेख्य प्रगति गरेको छ । उपमहानगरपालिकाले कोरोना महामारीका बीच पनि आन्तरिक राजश्व परिचालनमा सकारात्मक सफलता हासिल गरेको हो । कोरोना महामारीका बीच पनि उपमहानगरको आन्तरिक श्रोत अन्तरर्गत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गर्न सफल भएको हो ।

उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालकाले एक वर्षको अवधिमा ५० करोड ४९ लाख राजश्व संकलन भएको बताउनुभएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो । यसैगरी गत आर्थिक वर्षमा ऋणबाट राजश्व स्वरुप प्राप्त १ करोड ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा शंकलित ४८ करोड ६३ लाख गरी कूल ९२ करोड ११ लाख राजश्व जम्मा गर्न सफल भएको हो ।

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७/७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो । कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो । यसैगरी पूँजीगत तर्फको वित्तीय प्रगतिमा समेत गत वर्षको तुलनामा बढी सफलता प्राप्त गरेको छ । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने गत अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

खनालका अनुसार उपमहानगरपालिको राजश्व संकलनको प्रमुख स्रोत घरबहाल करबाट १३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै सम्पति करबाट ७ करोड र नदीजन्य पद्धार्थ विक्रीबाट ६ करोड ६ लाख रूपैयाँ संकलन गरेको छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले शिक्षा, स्वास्थ्य र शहरी विकास र पूर्वाधार विकास गर्दै डिजिटल बुटवलको योजनाका रूपमा अगाडि बढेको बताउनुभयो । सुवेदीले कोरोना महामारीका कारण आफनो सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा लगाउन पर्दा संघ र प्रदेश सरकार मार्फत विभिन्न शिर्षकमा प्राप्त भएका योजना मात्र नभई उपमहानगरपालिका आफ्नै श्रोतमा संचालित योजनाहरु पनि प्रभावित हुन पुगेको बताउनुभयो ।

नगर प्रमुख सुवेदीले राजश्वको दरमा वृद्धि नगरी सम्पति र भूमि करको पहिलो चौमासिक सम्म बुझाउँदा १५ प्रतिशतसम्म छुट दिने बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले कोरोनाले अभिभावक गुमाएका बालबालिकाहरुलाई माध्यामिक तहसम्मको शिक्षा पूरा गर्न लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो । शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले चालू आवका लागि नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा १८ प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो ।

उपमहानगरको आव २०७७/०७८ मा क्रमागत भई आएका योजना २८९ वटा थिए । कूल स्वीकृत योजना मध्ये ५५३ कार्यान्वन भए आएका गरी कूल ८४२ योजना पुगेका थिए । त्यसमध्ये ४२१ वटा सम्पन्न भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*