स्व. टिआर विश्वकर्माको स्मृतिमा बुटवलमा अन्तरक्रिया
बुटवल । पत्रकारिता र साहित्यमार्फत सामाजिक रुपान्तरणमा लागेका स्व. टि. आर. विश्वकर्मालाई नयाँ पुस्तामाझ चिनाउने काम हुन नसकेको पत्रकार सम्बद्ध व्यक्तिहरुले बताएका छन ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीले ३१ औं स्मृति दिवसमा आज बुटवलमा आयोजना गरेको पत्रकारिता र साहित्यमा स्व. टि.आर. विश्वकर्मा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्व. टि. आर विश्वकर्माको योगदानलाई भुल्न नहुने बताएका हुन ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले स्व. टि.आर विश्वकर्मालाई नयाँ पुस्ता माझ चिनाउन आवश्यक रहेको बताए । उनले दलित समुदायले भोग्दै आएको छुवाछुत र विभेदलाई दण्डित बनाउनुपर्छ भनेर माग गर्दै निरन्तर प्ररेणा साप्ताहिक निकालेर जनतालाई जागरुक बनाउने काम विश्वकर्माले गरेको बताए ।
कार्यक्रममा स्व. टिआर विश्वकर्मासँग संगत गरेका तथा नेपाल भारत मैत्री संघका अध्यक्ष ओमप्रकाश रामदामले विश्वकर्माको राजनीतिक सक्रियता भए पनि पत्रकारिता र साहित्य नै उनको मूल कर्म भएको बताए ।
कार्यक्रममा राससका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउनु पर्ने बताए । उक्त अवसरमा बरिष्ठ पत्रकार नारायण सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित अगुवा जुद्ध विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, केन्द्रीय सदस्य सञ्जय सौगात, प्रेस संगठन रुपन्देहीका सचिव विष्णु पोखरेल, सल्लाहाकार सावि विश्वकर्माले बोल्दै पत्रकारिता क्षेत्रले इतिहासको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रम संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, सचिव सुरेश परियारको सञ्चालन तथा सहसचिव गोविन्द रसाईलीको स्वागतमा भएको थियो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल केन्द्रीय समितिले पत्रकार स्व. टि.आर. विश्वकर्माको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरि पुरस्कार प्रदान गर्दै आएको छ । १९९० सालमा जन्मिएका स्व. टिआर.को २०४७ सालमा भारतमा मृत्यू भएको थियो ।
गत फागुनमा प्रथम सम्मेलनमा संघले स्व. टि.आर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कलेन्द्र सेजुवाल र बृजलाल पासवान पुरस्कृत भएका थिए ।





















