जनतालाई विस्थापित नगरिकनै मोतिपुर औधोगिक क्षेत्र स्थापना गर्न गृहमन्त्री खाँणको निर्देशन
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुरको औधोगिक क्षेत्र क्षेत्रफल घटाएर भए पनि जग्गामा बसिरहेका जनतालाई नहटाईकन उधोग स्थापना गर्न निर्देशन दिनु भएको छ । आईतबार लायन्स आँखा अस्पताल बुटवलको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दे गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भन्नु भयो , ‘बसोबास गरिरहेका जनतालाई नहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउनुहोस् । देश उनीहरुको पनि हो ।’
गृहमन्त्री खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गरेर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहका गृहमन्त्री खाँणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको बताउँदै उनीहरुका मागलाई सम्बोधन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताउनु भएको हो ।

गृहमन्त्री खाँणले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासंग भोट मागेकाहरुले नै राजधानी अन्यत्र सारेको टिप्पणी गर्नुभयो । एमाले नेता विष्णु पौडेल तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो–‘यहाँ सबैले बुटवललाई राजधानी बनाउछु भनेर नै भोट मागेको हो, हामीले स्थापना पनि गर्यो तर उहाँहरुले अन्यत्रै लैजानु भयो ।’
उहाँले यो सरकार बने पछि प्रहरी संगठनमा धेरै सुधारका कामहरु भएको दावी गर्नुभयो । लायन्स आँखा अस्पतालले आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान गरेको भन्दै आवश्यक जग्गाको प्रवन्ध गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी भैरहवामा तयारी पुरा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा उडान सुरु गर्न सरकार प्रयन्त गरिरहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोतिसंग उडान ईजाजतको लागि प्रस्ताव गरेको र त्यसमा सकारात्मक सन्देश प्राप्त भएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले अस्पतालको बारेमा जानकारी गराउंदै बिरामीको चापसंगै भवन साँगुरो भएको र अस्पताल सञ्चालनको लागि जग्गाको खोजी भईरहेकाले सहयोगको लागि आग्रह गर्नुभएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई उदयमान सिटिको रुपमा बिकास गर्न स्वास्थ्य र शिक्षाका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेत्र बिज्ञान अध्ययन संस्थानका अध्यक्ष डा. चेतन पन्त, लायन्सका द्वितीय भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, नेपाल नेत्रज्योती संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राँणा, सेवा फाउण्डेसनका रामप्रसाद कंडेल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष लोक प्रसाद खरेल, पूर्व अध्यक्ष तथा रजत महोत्सव आयोजक समितिका सचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा अस्पतालमा योगदान गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।






















