बुटवलमा कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालन
बुटवल । बुटवल उपमहानगरपालिकाले कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालन गरेको छ । बिहिबार बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवदीले बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा कराँते एकेडेमीका लागी प्रशिक्षण हल सहितको भवनको उद्धघाटन गर्नुभयो । मेयर सुबेदीले बुटवल नगरपालिकाले खेलकुदको विकास, सम्वर्द्धनका लागी बुटवलमा कराँतेका विभिन्न इभेन्ट्सका प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै खेलकुदको पूर्वाधार विकासमा ध्यान दिइएको बताउनुभयो। कालिकानगरमा स्थापना भएको एकेडेमीमा बुटवल उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालिकाको २ र ३ नम्बर वडाका खेलाडीले समेत प्रशिक्षणको प्रत्यक्ष लाभ लिन सक्ने छन् ।
कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनु भएका कार्यक्रमका सञ्चालक कृष्ण प्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास सँगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको बताउनुभयो ।






















