ईन्द्रेणीले सामाजिक कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै
बुटवल । बुटवल सुख्खानगर धर्मपथमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । सहकारीले दृष्टिविहीन, असहाय, बटुक विद्यार्थीलाई शैक्षिक तथा आर्थिक सहयोग, रक्तदान र सामाजिक उत्तरदायित्व बहन गर्ने प्रकारका रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस बनाउने भएको हो ।
सहकारीको सोमबार बसेको संयुक्त बैठकले २४ औं स्थापना दिवसलाई रचनात्मक बनाउने र २५ औं वर्ष प्रवेससँगै आउने वर्ष २०७९ लाई रजतमहोत्सव वर्षका रुपमा मनाउने निर्णय गरेको सहकारीका अध्यक्ष धुर्वकुमार धितालले जानकारी दिनुभयो । उहाँका अनुसार चैतको दोस्रो साता विभिन्न रचनात्मक कार्यक्रम गरिने छ । स्थापना दिवसको अवसरमा चैत्र ११ गते सहकारी प्रशिक्षण कार्यक्रम, १२ गते वृहद रक्तदान कार्यक्रम र सँगसँगै मणिग्राम शान्ति नमुना विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई र बुटवल दिपनगरमा रहेको सन्तोषिमाता गुरुकुलका बटुक विद्यार्थीको शैक्षिक कृयाकलापका लागि आर्थिक सहयोग गर्ने भएको अध्यक्ष धितालले जानकारी दिनुभयो ।
यसैबीच बैठकले सहकारीले संचालन गरेको लघुवित्त तथा लघुउद्यम कार्यक्रमलाई अझ प्रभावकारी र चलायमान बनाउने निर्णय गरेको छ । सहकारीले ६ करोडबढी लगानी गरेको लघुवित्त तथा लघुउद्यम कार्यक्रमलाई प्रभावकारी संचालन गर्ने निर्णय गरेको कोषाध्यक्ष नरबहादुर श्रीसले जानकारी दिनुभयो । कोषाध्यक्ष श्रीसका अनुसार १० करोड शेयर पुँजी रहेको संस्थाको कुल बचत ४० करोड, जगेडा कोष ३ करोड, कर्जा लगानी ४७ करोड रहेको संस्थाको कुल पँुजी ६० करोड रहेको छ ।
संस्थाका सचिव माया गौतमको संचालनमा भएको बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद अर्यालले ईन्द्रेणीले सम्पुर्ण वित्तिय कारोवार सबै सफ्टवेयर माध्यमबाट सुरु गरेको जानकारी दिदै सम्पुर्ण वित्तिय कारोवार बैंकिङ्ग सफ्टवेयर प्रणाली सरह संचालन गरिएको जानकारी दिनुभयो । सहकारीका सदस्यले पैसा निकाल्न राख्ने वित्तिय सहजताका लागि सहकारीमा ई–बैंकिङ्ग सेवा संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, पुर्व अध्यक्ष शिललाल राना, सल्लाहकार डिलबहादुर थापा, डम्बरदेव अर्याल, कानुनी सल्लाहकार जीवनारायण अधिकारी, लेखा संयोजक मोहनप्रसाद भण्डारी, मुल्यांकन सहसंयोजक दलबहादुर थापा लगातले सहकारीलाई सक्रिय र अझ गतिशिल बनाउनका लागि सदस्य लक्ष्यित रचनात्मक कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।





















