श्रृखंलाबद्ध चोरीका घटनाप्रति सुनचाँदी ब्यवसायी संघको गंभिर ध्यानाकर्षण
बुटवल । बुटवलमा मंगलबार बिहान गुल्मेली कोटेश्वर मजुवा सुनचाँदी पसलबाट भएको सुनचाँदी चोरीकोे घटना प्रति सुनचाँदी ब्यवसायी संघ बुटवलको गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बुधबार बिहान पत्रकार सम्मेलन गरी बुटवल अमरपथ ६ बि.पि. चोकमा नन्द बहादुर सुनारको नाममा रहेको गुल्मेली कोटेश्वर मजुवा सुनचाँदी पसलबाट मंगलबार करिब २ बजे साढे चार किलो बराबरको सुनचाँदी र साढे ५ लाख नगद गरी ५ करोडको गरगहना चोरी भएको बताएको छ ।
संघका अध्यक्ष गकुल विश्वकर्माले पटक पटक चोरीका घटना हुदां पनि प्रशासनले चोर पक्रिने र सुनचांदी फिर्ता गर्न नसकेको कारण ब्यवसायीहरुले ढुक्कसंग ब्यवसाय गर्न र शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसेको बताए । अध्यक्ष बिश्वकर्माले रुपन्देहीमा २ महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचांदी चोरी हुनु दुखद रहेको भन्दै उनले श्रृखंलाबद्ध चोरीका घटनाले सम्पूर्ण ब्यवसायीहरु आतंकित र चिन्तित बनाएको बताए ।

अध्यक्ष विश्वकर्माले चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याई पिडितलाई चोरी भएको सुनचाँदी र नगद उपलब्ध गराई सम्पूर्ण ब्यवसायीहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन प्रशासन र सरोकारवाला संग आग्रह गरेका छन् । अध्यक्ष विश्वकर्माले चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब स्वरुप बुटवलभर का सुनचाँदी पसल बन्द गरिएको बताए । चोरीमा संलग्नलाइ तत्काल पक्राउ नगरिए बुटवलका सबै सुनचांदी पसल, जिल्ला प्रशासनमा ज्ञापन पत्र र रुपन्देहीमा सबै सुनचांदी पसल अनिश्चितकालिन बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम तय गरिने पूर्व अध्यक्ष दीपक बिश्वकर्माले बताए ।
पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार लुटेराले पसलमा तोडफोड गर्नका लागि अक्सिजन ग्यास सहित वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । आफैले पसल चलाएको सोही घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए । उनले आफ्नै पसलको छेउमा २ जना भारतीय नागरिकले फेन्सी खोल्ने भन्दै १३ दिन अगाडी घरबेटी डा. योगेन्द्र अग्रहरीसंग सम्झौता गरेको समेत बताए । चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएको उनले बताए ।
रुपन्देहीमा पछिल्लो २ महिनाभित्र तिलोत्तमाको भलवारीमा रहेको पर्वत महेश्वर सुनचांदी पसल, चैत्र १७ गते रानीबगिया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचांदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचांदी पसल, बैसाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचांदी पसलमा चोरी भएको हो ।





















