तिलोत्तमाकी उपप्रमुख तथा न्यायिक समिति संयोजककै घरमा महिला हिंसा

खबरपथ संवाददाता
१६ श्रावण २०७९, सोमबार १९:५१

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उप-प्रमुख जागेश्वरीदेवी चौधरीकै बुहारी घरेलु हिंसामा परेकी छिन् । तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारुले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए ।

चौधरीले श्रीमानलाई कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । श्रीमानले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गर्ने,गाँजा भर्न लगाउने,शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् ।

गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालन पालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।

वर्षाले पत्रकारहरुसंग भनिन्,-‘श्रीमानले मलाई दिनहुँ यातना दिएपछि मैले उजुरी दिएकी हुँ,आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएकी छु, अब मलाइ झन् बढी हिंसा हुन सक्छ, न्याय नपाएसम्म घर फर्कन्न ।’

घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले हेला गर्ने गरेको गुनासो उनको छ ।

महिला अधिकारकर्मीहरूले जनप्रतिनिधिकै घरमा महिला हिंसाका घटना हुनु दुखद् भएको टिप्पणी गरेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी भने सम्पर्कमा आउन चाहिनन् ।

उपप्रमुख जागेश्वरीदेवि चौधरी विगतका दुवै स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा विजयी भएकी एमाले नेतृ हुन् । स्थानीय तह उपप्रमुख पालिकास्तरको न्यायिक समिति संयोजक पनि हुन्छ जसले पालिकाभरि हुने यस्ता झै-झगडा सम्बन्धी उजुरीको छिनोफानो गर्ने दायित्व बोकेको हुन्छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*