बुटवलमा प्राध्यापकहरूको तीन दिने प्रदेश स्तरीय गोष्ठी हुदै
बुटवल । बुटवलमा प्राध्यापकहरूको तीन दिने प्रदेश स्तरीय गोष्ठी हुने भएको छ । आगामी माघ २८ गतेदेखि तीन दिनसम्म हुने प्रदेश स्तरीय गोष्ठीमा उच्च शिक्षालाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल गरी ठोस निस्कर्ष निकालिने नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।
नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गोष्ठीको तयारी बारे जानकारी गराएको छ । गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत हुने नेपाल प्राध्यापक संघका निर्वतमान केन्द्रीय अध्यक्ष बुद्ध बहादुर थापाले जानकारी दिनुभयो ।
भद्रगोल उच्च शिक्षालाई कसरी प्रभावकारी बनाउने, सामुदायिक क्याम्पसहरुको अवस्था, चुनौती र डिजिटल लर्निङको विषयमा विज्ञहरूले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने थापाले जानकारी दिनुभयो ।
गोष्ठीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । बुटवल सुख्खानगर स्थित एभरेष्ट होटलमा हुने गोष्ठीमा प्रदेशभरका सबै क्याम्पसका प्रतिनिधिमूलक रुपमा २०० प्राध्यापकहरू सहभागी हुने गोष्ठि आयोजक समितिका संयोजक गोपाल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने उच्च शिक्षालाई राज्यले प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।






















