कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गो लागेको छैन – कांग्रेस नेता केसी
बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गो नलागेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताउनु भएको हो ।
चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि कसको नेतृत्वमा कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने केसीको भनाई थियो ।
उहाँले कांग्रेस गठबन्धन सरकारमा जाँदा साझा प्रतिवद्धताहरु ल्याउनु पर्ने बताउनुभयो अहिले मुख्य लडाई भनेको मुलुकमा रहेको गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेको भन्दै उनले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
केसीले अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि बताए । देशको आर्थिक अवस्था निकै कमजोर अवस्थामा रहेको भन्दै उहाँले चालु खर्च घटाउन सबैको ध्यान जानु पर्ने बताउनुभयो ।






















