बुटवलमा लालपूर्जाविहिन जग्गाहरुको सर्भे शुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपूर्जाविहिन जग्गाहरुको सर्भे शुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरुमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे शुरु गरेको हो ।
बुटवल ११ सिर्जनानगरमा सर्भेको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपूर्जा नपाएकाहरुलाई लालपूर्जा दिलाउनका लागि उपमहानगरपालिकाले सबै प्रयास गर्ने बताउनुभयो ।
उहाँले लालपूर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लकहरु छिटै नै नापजाँचको प्रक्रियामा जाने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले अहिले वडा नं २, ११ र १२ का जग्गाहरुको नापजाँचको प्रक्रिया शुरु भएको र छिटै नै लालपूर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताउनुभयो ।
वडा नं. २ का करीब ३ सय घरधुरी, ११ का करीब ४ सय घरघडेरी र १२ का करीब १ सय २० घरधुरीको नापजाँच अगाडि बढेको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भूर्तेलले जानकारी दिनुभयो । उहाँले डीजीपीएस् सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिश गरेर पठाएपछि लालपूर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
सर्भेमा बुटवल उपमहानगरपालिकाका ५ जना सर्भेक्षकहरु खटिएको र छिटै नै डीजीपीएस् सर्भे पूरा गरी नापजाँचको काम शुरु गर्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिनुभयो ।






















