नदीजन्य पदार्थको चोरीनिकासी रोक्न अनुगमन
बुटवल । बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाएको छ ।
बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरुमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँले नदीजन्य पदार्थको चोरीनिकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्नका लागि सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिनुभयो ।
प्रमुख पाण्डेयले नगरप्रहरीसहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताउनुभयो । उहाँले जिल्ला र नगरको सुरक्षानिकायलाई समेत चोरीनिकासमा थप संवेदनशील बन्नका लागि आग्रह गर्ने बताउनुभयो ।






















