बुटवल ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

खबरपथ संवाददाता
१४ चैत्र २०७९, मंगलवार १९:४३

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् ।

बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गर्नुभयो ।

लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताउनुभयो ।

उहाँले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताउनुभयो ।

प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताउनुभयो ।

उहाँले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदम राज गाहाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*