लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने

खबरपथ संवाददाता
१६ चैत्र २०७९, बिहीबार ०८:४०

बुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ। चैत १६ र १७ गते बुद्धजन्मस्थल लुम्बिनीमा मिडिया सम्मेलन हुन लागेको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पूरा भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहासमा ठोस र उपलब्धिमूलक निर्णय गर्ने गरी लुम्बिनीमा सम्मेलनको आयोजना गरिने जानकारी दिनुभयो।

सम्मेलनमाफर्त सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र संविधान निर्माण पछि प्रेसमैत्री कानुन निर्माणका प्रक्रिया र भइरहेका ढिलाइबारे देशभरका पत्रकारहरूको उपस्थितिमा छलफल गरिने उहाँले बताउनुभयो ।
स्थानीय तहले बनाएका कानुनका विषयमा बृहत् बहस र छलफल गरिने उहाँले बताउनुभयो । सम्मेलनमा मिडिया लगानीकर्ता, सरकारी प्रतिनिधि र पत्रकारिता विज्ञहरूको सहभागिता रहने बताइएको छ।

सम्मेलनमा देशभरबाट २५० जना सहभागीहरू उपस्थिति रहने महासचिव रोशन पुरी जानकारी दिनुभयो । संगठन सुदृढीकरण, पत्रकारहरूको पेशागत हकहित र कानुन निर्माणका सवालमा लुम्बिनी राष्ट्रिय सम्मेलनले ठोस निर्णय गर्ने उहाँको भनाइ छ।

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । १६ गते बिहीबार महासंघले ६८ औं स्थापना दिवस नवलपरासीमा मनाउने भएको छ। पश्चिम नवलपरासीको परासीमा बिहान ७ बजे प्रभातफेरी गर्ने कार्यक्रम छ।

परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत राखिएको छ। बुद्धजन्मस्थल लुम्बिनीमा राखिएको कार्यक्रमको नेपाल पत्रकार महासंघ लुम्बिनी र रुपन्देही शाखाले आतिथ्यता गर्नेछ।

सम्मेलनमा जिल्ला शाखा अध्यक्ष, ७ प्रदेशबाट अध्यक्ष र महासचिवसहितका व्यक्तिहरूको उपस्थिति रहने लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिनुभयो। सम्मेलनलाई सफल बनाउन आफूहरूले सक्दो सहयोग गर्ने महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनुभयो। उहाँले सदस्यता सुद्धिकरणको अभियानमा जिल्ला शाखा तयार रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*