महासंघको सदस्यमा निर्वाचित अध्यक्ष कसजूलाई संघमा सम्मान

खबरपथ संवाददाता
६ बैशाख २०८०, बुधबार १५:३८

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित हुनुमा संघमा सम्मान गरिएको छ । उहाँलाई मंगलबार संघ सचिवालय बुटवलमा कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । त्यसै अवसरमा राष्ट्रपतिबाट प्रज्ज्वल जनसेवा श्रीबाट विभूषित हुनु भएका संघका पूर्वअध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौललाई पनि सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित सदस्य तथा संघका अध्यक्ष कसजूले आफूलाई निर्वाचित गराउनको लागि भूमिका खेलेको बुटवल उद्योग वाणिज्य संघ, पदाधिकारी कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु र मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस क्षेत्रमा विद्यमान उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघमा पहल तथा पैरवी गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समान ग्रहण गर्दै पूर्वअध्यक्ष तथा सल्लाहकार लाकौलले राष्ट्रपतिबाट विभूषित हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो प्रतिष्ठा प्राप्तिको लागि बुटवल उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले राष्ट्रपतिबाट विभूषित भएकामा सम्मान गरेकामा पनि संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले अध्यक्ष कसजूको जीतले सिंगो बुटवलको ईज्जत र प्रतिष्ठा बढाएको र संघको गरिमालाई अझै माथि उठाएको उल्लेख गर्नुभयो ।
त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले सबैको एकता र बलियो साथका कारण अध्यक्ष कसजूले महासंघमा जित्न सफल भएको बताउँदै आगामी दिनमा पनि यो एकता कायम रहिरहने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै पूर्वअध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजूले अध्यक्ष कसजूको जीतमा एकताको बल प्रदर्शन भएको बताउँनु भयो । उहाँले आगामी दिनमा यस क्षेत्रका उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघमा पहल गर्न महासंघका नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला नगरबाट खुल्ला सदस्य पदमा निर्वाचित कसजू ७२ मत सहित सातौं स्थानमा विजयी हुनु भएको हो । जसमा ११७ ९सय प्रतिशत० मत खसेको थियो । खुल्ला तर्फबाट १८ सदस्य पदका लागि ३२ जनाको प्रतिस्पर्धा थियो ।
गएको चैत २८ र २९ मा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ । आगामी कार्यकालको नेतृत्वका लागि समेत भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाई विच प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सहमतिमा वरिष्ठ उपाध्यक्षमा अञ्जन निर्वाचित हुनु भएको हो । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*