नेपाली सेनाको एकीकरण पैदल यात्रा बुटवलमा समापन
बुटवल । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलको जितगढीमा समापन गरिएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो ।
बुटवल आइपुगेको टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालसहितको टोलीलाई स्वागत र सम्मान गर्नुभएको थियो ।
बुटवल १ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेको थियो ।
चैत २८ गते नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट बुटवलको जितगढीका लागि पैदलयात्रामा निस्केको थियो ।
नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।
एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले पदयात्रा गरिएको नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले बताउनुभयो ।
यात्राका क्रममा नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई अझ बलियो बनाउने काम गरेको र पैदलयात्रामा नागरिकले सेनालाई उत्साहपूर्वक स्वागत गर्दै शुभकामना दिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गोरखादेखि जितगढीसम्म ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको थियो ।
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी थिए ।






















