बुटवलका नगरप्रमुख काठमाडौंमा भेटघाटमा व्यस्त
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेटेर बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गर्नु भएको छ।
खुमलटार ललितपुरमा रहेको कार्यालयमा भएको भेटका क्रममा प्रमुख पाण्डेयले बुटवलको ज्योतिनगर, मिलनपथ र लक्ष्मीनगर क्षेत्रको पहिरोका कारण बस्ती जोखिममा परेकोले यसको दीर्घकालीन समाधानका लागि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले पनि योजना ल्याउनुपर्ने बताउनुभयो ।
चुरे क्षेत्रको संरक्षण गर्दै जोखिममा परेका बस्ती सुरक्षित राख्ने काममा बुटवल उपमहानगरपालिकाले निरन्तर काम गरिरहेको बताउँदै प्रमुख पाण्डेयले स्थायी समाधानका लागि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्थानीयलाई जोखिममुक्त बनाउँदै चुरेको संरक्षण गर्न राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिमार्फत संघीय सरकारको प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
भेटका क्रममा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष पौडेलले पहिरो नियन्त्रण र जोखिम न्युनीकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले बुटवल उपमहानगरको प्रयासमा राष्ट्रपति चुरे(तराई मधेश संरक्षण विकास समितिले साथ दिने वचन दिनुभयो ।

अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिँदा लिइने राजस्व घटाउन आग्रह
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीसँग भेटेर अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिँदा लिइने राजस्व घटाउनुपर्ने बताउनुभएको छ।
उहाँले अव्यवस्थित बसोबासीले राजस्व तिर्न नसकेका कारण लालपूर्जा वितरण रोकिएको बताउँदै राजस्व घटाउनुपर्ने बताउनुभयो । उहाँले अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्त गरेको १० वर्षसम्म किनबेच गर्न नपाउने व्यवस्था संसोधन गरी घटाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ।
बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मालाई अनुरोध गर्नुभयो ।
उहाँले सञ्चार मन्त्रालयबाट स्थानीय सरकारलाई सूचना र सञ्चारका क्षेत्रमा सक्षम बनाउनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्थानीय सरकारले साधन श्रोतको सीमितताका कारण सूचना र सञ्चारका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै संघीय सरकारले स्थानीय सरकारलाई तथ्यांक र अभिलेख राख्नका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले संघीयताको मर्मअनुसार स्थानीय सरकारका अधिकार कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्नका लागि मन्त्री शर्मासँग अनुरोध गर्नुभयो ।
भेटका क्रममा मन्त्री शर्माले बुटवलको सञ्चार केन्द्र निर्माणको काम छिटै नै अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले संघीय सरकार र स्थानीय सरकारका बीचमा सहकार्य र समन्वयबाट प्रभावकारी काम हुनसक्ने बताउनुभयो ।
केहीदिनअघि काठमाडौं जानुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यसअघि अर्थ मन्त्रालय र अन्य मन्त्रालयहरुमा पुगेर बुटवलको विकासका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नका लागि छलफल र भेटघाट गर्नुभएको छ । यस्तै बुधबार प्रमुख पाण्डेयले अन्य मन्त्रालय र विभागहरुका अधिकारीहरुसँग भेटेर बुटवलको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।






















