दीपमा विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१२ बैशाख २०८०, मंगलवार २०:२३

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै टीका, खादा तथा मायाको चिनोद्वारा सम्मान तथा विदाई गरिएको थियो ।
कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गरेका विद्यार्थीहरू र ५ वर्षभन्दा बढी समय कक्षा ११ र १२ तर्फ कार्यरत शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले विविध सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । त्यसैगरी अनुजा मिडियाले विद्यालयका प्राचार्य टीकाराम न्यौपानेलाई बेस्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गरेको सन्दर्भमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीहरूका तर्फबाट टीकाराम न्यौपानेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त होओस् भन्ने शुभकामना व्यक्त गर्दै कक्षा १२ उत्तीर्णपछि मात्रै उच्च शिक्षाको शुभारम्भ हुने भएकाले मिहिनेतका साथ अध्ययन गरी परिवार तथा विद्यालयको अपेक्षा पूरा गर्न र आफ्नो भविष्य समुज्जल बनाउन विद्यार्थीहरूलाई शुभकामना दिनुभएको थियो भने अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले सफल जीवनका लागि समयमै मिहिनेत गर्नुपर्ने बताउँदै परीक्षा सफलताका लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सुन्दर भविष्यका लागि समयमै मिहिनेत गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै परीक्षा सफलताको शुभकामना दिनुभएको थियो भने वि.व्य.स. वसन्तकुमार जोशी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले परीक्षा सफलताको शुभकामना दिनुभएको थियो भने कक्षा ११ का विद्यार्थी समीक्षा आचार्यले स्वागत र कक्षा १२ की विद्यार्थी शर्मिला पन्थीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा ११ विद्यार्थी सन्तोष राजवंशीको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, उपपाचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.स.समिति सदस्य विष्णुमाया श्रेष्ठ र रेखाश्रेष्ठ लगायत शिक्षक शिक्षिकाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको औपचारिक कार्यक्रम शिक्षक पुरुषोत्तम पाण्डेय र राजश्री गौतमले सञ्चालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विपिन थापा र विदुषी पौडेलले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*