पूर्व उपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाद्धारा शाेक व्यक्त , आईतबार अत्यावश्यक बाहेकका सेवा बन्द
बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यक बाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ ।
८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको थियो। आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो।
शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो।
उहाँले खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताउनुभयो।
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार र त्यागी नेता गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले पूर्व उपप्रमुख खनाललाई सधै सम्झिईरहने बताउनुभयो।
दम बढेपछि तिनाउ अस्पतालमा उपचाररत खनालको आईतबार बिहान साढे २ बजे निधन भएको थियो।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बन्नुभएको थियो। शालिन नेताका रुपमा रहनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हाल्नुभएको थियो।





















