काठमाडौंका विस्थापित सुकुम्बासीका समस्या बुझ्दै पूर्वप्रधानमन्त्री डा. भट्टराई
काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ । भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् । पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् । बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युतका मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ’सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे ।




















