निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय लोकतन्त्र विरोधी : भीष्मराज आङ्देम्बे

खबरपथ संवाददाता
१७ बैशाख २०८३, बिहीबार २०:०६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारकाे उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिको प्रहार भन्दै आङ्देम्बेले आलोचना गरे ।

उनले भने, ‘कहिलेकाहीँ सरकारले नाडी छाम्ने प्रयास गर्छ तर लोकतन्त्रको मर्मप्रति नाडी छाम्ने गलत सोच हो ।’ उनका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई प्रकाशन/प्रसारण गर्न नदिने यस्तो निर्णयले प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको आर्थिक आधार कमजोर पार्ने खतरा हुन्छ । उनले यस विषयलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको र संसदभित्र तथा संसदीय समितिका बैठकहरूमा पनि प्राथमिकताका साथ उठाउने नेपाल पत्रकार महासंघको टोलीलाई बिहीबार बताए ।

सरकारी विज्ञान सरकारी सञ्चारमाध्यमलाई मात्रै उपलब्ध गराउने बालेन सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित छ । आन्दोलनकै कार्यक्रम अन्तर्गत महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतको टोलीले नेता आङ्देम्बेलाई सरकारी विज्ञान सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारको निर्णय खारेजको लागि दबाब दिन ध्यानाकर्षण गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*