लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गर्नुभएको हो । नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यताहरूलाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको जग बसालेको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिको रूपमा व्याख्या गर्दै वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पु¥याएको दाबी गर्नुभयो । नागरिकका गुनासोहरू शासकीय संरचनाबाटै सम्बोधन हुने उन्नत लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जगलाई थप मजबुत बनाएको उहाँले उल्लेख गर्नुभयो ।











