स्वरोजगार लघुवित्तको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई पहिलो प्राथमिकता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४२ हजार कित्ता सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। संस्थाले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राख्दै विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि प्राथमिकता दिएको हो।
संस्थाले जारी गरेको सूचनाअनुसार प्रचलित व्यवस्था अनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो अवसर हाल कायम रहेका संस्थापक सेयरधनीलाई दिइएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।
आवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। निवेदनमा खरिद गर्न चाहेको सेयरको कित्ता संख्या समेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने संस्थाले जनाएको छ।
संस्थाका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
यससँगै स्वरोजगार लघुवित्तले संस्थापक समूहको सेयर स्वामित्व हस्तान्तरणका लागि आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ।





















