तिलोत्तमामा हरित पुनःउत्थान प्रवर्धन परियोजना

फोहोरमैला व्यवस्थापनदेखि बायोग्याँस उत्पादन गर्नेसम्मका उद्देश्य
खबरपथ संवाददाता
१० श्रावण २०७८, आईतवार १३:४४

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवर्धन परियोजना (पिजीआरपी) शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथ साथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारी मार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवर्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । यसको लागि घर, उद्योग, व्यवसाय तथा संघ—संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ ।

परियोजना अन्तर्गत् बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यवसायिक जैविक खेतीलाई प्रवर्धन गरी आम्दानीको श्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।

रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिने परियोजनामा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २६० जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाभित्रका २६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ । आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

त्यस्तै परियोजना अन्तर्गत् यूएनडीपीले तिलोत्तमा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पु¥याउने जनाइएको छ । परियोजनाले हरित पुनःस्थापनामा फोहोरमैला व्यवस्थापनको महत्व दर्शाउनुको साथै फोहोर व्यवस्थापनमा पनि प्रशस्त आर्थिक अवसरहरू सिर्जना हुनसक्छन् भन्ने उदाहरणको प्रस्तुत गर्ने नगर प्रमुख घिमिरेको भनाइ छ ।

ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नाराको साथ अगाडि बढिरहेको तिलोत्तमामा यस परियोजनाले अझ प्रभावकारी रुपमा फोहोर व्यवस्थापनको काम गर्ने उहाँको विश्वास छ । नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई परियोजना मार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पु¥याउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको फोहर मैला व्यवस्थापनको एकीकृत योजना बन्ने र ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको लक्ष्य हासिल गर्न टेवा पुग्ने विश्वास प्रकट गर्नुभयो । तिलोत्तमा नेपालको पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*