गुल्मी जिप दुर्घटना : घाइते र मृतक सबैको पहिचान खुल्यो
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका र घाइते भएका सबैको पहिचान खुलेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा , वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुंगा नगरपालीका २ बाख्रेछेडाकी ६८ वर्षको सुशिला बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
गम्भीर घाइतेहरु चालक गुल्मी चन्द्रकोट गाउपालीका वडा नम्बर ५ बस्ने वर्ष ३५ को बम बहादुर वि.क., चन्द्रकोट गा.पा.– ६ बस्ने वर्ष २० की विनिता परियार , शान्तिपुर बस्ने वर्ष ३९ को गगन क्षेत्री र वर्ष २२ को सुनिल वि.क. को थप उपचार का लागी पाल्पा पठाईएको छ । यस्तै वर्ष ३३ को गोकुल भण्डारी , वर्ष २३ की मुना भण्डारी र रेसुङ्गा न पा २ बस्ने वर्ष २३ की रमिला भण्डारी अवस्था मध्यम रहेको र उनीहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको थियो । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।





















