बुटवल उवासंघको पहलमा सदस्य उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप

खबरपथ संवाददाता
२२ श्रावण २०७८, शुक्रबार १९:४८

बुटवल । बुटवल उद्योग बाणिज्य संघको पहलमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोना विरुद्धको खोप लगाईएको छ । संघको पहल तथा समन्वय र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाईएको हो ।

बिहिबार र शुक्रबार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा १ हजार जनालाई कोरोना बिरुद्धको खोप लगाईएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनुभयो । कोरोना संक्रमणको महामारीमा मुलुकको अर्थतन्त्रको अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी व्यबसायीलाई सुरक्षित राख्न सकिएन भने बिग्रिएको अर्थतन्त्र झनै बिग्रिने भएकोले उद्योगी व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाउन पहल गरिएको उहाँले बताउनु भयो ।

कोरोना महामारीका कारण उद्योग तथा व्यापार व्यबसाय बन्द हुँदा मुलुकको अर्थतन्त्र बिग्रिदै गएको र अव पनि खोपको प्रवन्ध गर्न सकिएन भने संक्रमण बढ्दो क्रममा रहेकोले सम्भावित बन्दमा पनि उद्योगी व्यबसायी ढुक्क भएर काम गर्ने वातावरण नहुने भएकाले उद्योगी व्यबसायीलाई खोप अनिवार्य भएको उहाँले बताउनुभयो । सबै उद्योगी व्यबसायीलाई खोप प्रवन्ध गर्न आग्रह गरिएको भए पनि खोप सिमित आएकोले सबैलाई लगाउन नसकिएको र आगामी दिनमा बाँकी उद्योगी व्यबसायीलाई खोप लगाउन पहल जारी रहने अध्यक्ष कसजूले बताउनुभयो ।

संघको खोप कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अफिसर कालिका पाण्डेको नेतृत्व स्वास्थ्य कर्मीको टोली खटिएको थियो । त्यस्तै संघका अध्यक्ष कसजू सहित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई सहित कार्यसमितिका पदाधिकारी सदस्यहरु खोप कार्यक्रममा समन्वय गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*