सडक डिभिजनलाई बुटवल उवासंघको ज्ञापन : ‘सडक बिस्तारको काम खण्ड–खण्डमा गरौँ’

खबरपथ संवाददाता
२५ श्रावण २०७८, सोमबार १९:११

बुटवल । वेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बुटवलको राजमार्ग चौराहा–चिडिया खोला सडक विस्तारको काम खण्ड खण्डमा गर्न बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ । सडक पूर्वाधार बिस्तारको काम नाली खन्ने र निर्माण सामग्रि लामो समय सम्म सडकमै रहँदा व्यापार व्यबसाय र दैनिक कामकाजमा समेत अवरोध हुने बताउँदै संघले खण्ड खण्डमा विभाजन गरेर काम गर्न आग्रह गरेको हो ।

संघले सोमबार सडक डिभिजन कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाउँदै बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकमा जताततै खाल्डाखुल्डी हुँदा आवतजावतमा समेत समस्या भएकोले त्यसलाई समेत व्यबस्थित गर्न ध्यानाकर्षण गराएको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मसासिनीलाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले व्यापारिक मार्ग अन्तरगत चौराहा देखि गोलपार्क खण्डमा बिस्तारको काम सुरु भएको र त्यसलाई खण्ड खण्डमा काम गर्न आग्रह गर्नुभयो । त्यस्तैगरी चौराहा देखि गोलपार्क सम्मको मुख्य सडकमै जताततै खाल्डैखाल्डा हुँदा आवत जावतमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत उत्तिकै भएकाले समयमै मर्मत सम्भारमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सडक बिस्तारमा गुणस्तरमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले उद्योगी व्यबसायीहरुको सुझाव सल्लाह अनुसार सडक बिस्तारको काम पार्टपार्टमा गरिने बताउँदै चौराहा देखि अस्पताल लाईन श्रवणपथ सम्म एक पार्टमा हुने जानकारी गराउनुभयो । त्यस्तैगरी श्रवणपथ देखि गोलपार्क सम्म अर्को पार्टमा काम हुने बताउँदै गोलपार्क देखि श्रवणपथ सम्मको नालीलाई श्रवणपथ हुँदै सुखौरा खोलामा मिसाउने र श्रवणपथ देखि चौराहा सम्मको नालीलाई चौराहा देखि बुटवल धागो कारखाना हुँदै सुखौरा खोलामा नै मिसाईने उहाँले बताउनुभयो । त्यस्तैगरी सडक पश्चिमको नालीलाई तिनाउ नदिमा व्यबस्थित गरिने समेत उहाँले बताउनुभयो ।

सडक क्षेत्राधिकारको जग्गा अधिकरणको काम लगभग सकिएको बताउँदै उहाँले अव १/२ वटा मात्रै घरको काम बाँकी रहेकाले अब सडक बिस्तारको काम अगाडि बढ्ने उल्लेख गर्नुभयो । सम्झौता अनुसार बुटवल गोलपाक (चिडिया खोला) सडक निर्माण आगामी असार मसान्त सम्म सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण ६ महिना थप गर्दा २०७९ सालको पुस मसान्त सम्म सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । सडक निर्माणमा सम्झौता पछि अदालतमा मुद्धा हुँदा बिस्तारको काम समयमा सुरु हुन पाएको थिएन भने अदालतबाट अनुमति प्राप्त भए पछि पनि कोरोना महामारी तथा सडक क्षेत्राधिकारमा पर्ने जग्गा अधिग्रहणको काम समेत सकेर भर्खरै मात्र नालि खन्ने काम सुरु भएको छ ।

कार्यालय प्रमुख मरासिनीले खानेपानीको पाईपलाई फूटपाथमा राखिने र विद्युत संग समेत सम्झौता भएकाले विद्युतको पोल व्यबस्थित गर्ने काम बिद्युतले गर्ने जानकारी गराउनुभयो । त्यस्तै उहाँले सडक बिस्तारको काम हुँदै गरेकाले अस्थायी रुपमा मर्मत सम्भारको काम भईरहेको र नियमित भईरहने जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*