गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल परीक्षण उडानको व्यबस्था मिलाउन माग

खबरपथ संवाददाता
१७ भाद्र २०७८, बिहीबार २०:१९

बुटवल। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको छ । करिव ९८ प्रतिशत निर्माण पुरा भएको बिमानस्थल क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाई भएको बताउँदै थाईल्याण्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्दैन भने अन्य विकल्पहरुको प्रयोग गरेर भए पनि यथाशक्य चाडो विमानस्थल सञ्चालनको प्रवन्ध मिलाउन माग गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघको टोलीले हालै मात्रै विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनमा क्रममा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बिमानस्थल निर्माणको काम करिव पुरा भएको र क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) को लागि थाईल्याण्डको एरोथाई कम्पनी तयार नहुँदा सञ्चालन अनिश्चित बनेको जानकारी पाएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले बताउनु भयो ।

नयाँ ठेक्कामा जाँदा झन धेरै समय लाग्ने र ‘जि टु जि’ (सरकार–सरकार) बाट भए पनि परीक्षण उठानको प्रयास भईरहेको संघको टोलीलाई विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराउनु भएको थियो । अधिकारीका अनुसार सके सम्म थाईल्याण्ड कै प्रविधी जडान भएकाले उसैले गरोस भन्ने आयोजनाको चाहना रहेको अधिकारीले बताउनु भएको थियो । उहाँका अनुसार अवको करिव ३ महिनामा निर्माणका सबै काम सकिने र क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) को काम मात्रै बाँकी हुनेछ ।

विमानस्थल चाँडो सञ्चालनमा आउन सके त्यसका माध्यमबाट यस क्षेत्रको पर्यटन उद्योग फस्टाउनुको साथै यहाँका व्यापार विस्तार गर्न र कार्गो विमान मार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन कफि, फलफूल, जडिबुटी, खाद्यान्न आदी निर्यातको हामीले प्रचुर सम्भावना रहेकाले उद्योगीसंगै मुलुकको आर्थिक बिकास समेत टेवा पुग्ने संघका अध्यक्ष कसजूले बताउनुभयो ।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले यस क्षेत्रको आर्थिक विकासलाई प्रवद्र्धन गर्नको लागि पनि अन्तर्राष्टिय विमानस्थल यथाशक्य चाडो सञ्चालनमा ल्याउन सरकारले पहलकदमी उठाओस भन्ने आफूहरुको चाहना भएको बताउनु भएको थियो ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी १५ जनवरी २०१५ मा शिलान्यास भएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पटक पटक समय थप गर्दै ६ वर्ष वितिसक्दा पनि अझै निर्माण पुरा हुन सकेको छैन । संघले अव समय थप गर्ने भन्दा पनि पछिल्लो पटक थप भएको समयसिमा भित्रै सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग आग्रह गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*