रुपन्देही उद्योग संघ र तिलोत्तमा नगरपालिकाबीच अन्तरक्रिया कार्यक्रम
बुटवल । रुपन्देही उद्योग संघले औद्योगिक विकासका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा तिलोत्तमा नगरपालिका पुगेको टोलीले तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री तथा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतसँग भेट गरी संस्थागत अवधारणा सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
भेटका क्रममा संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देही उद्योग संघको स्थापना र संस्थागत गतिविधि एवं रुपन्देहीको औद्योगिक विकासको संक्षिप्त इतिहास समेत जानकारी गराउनु भएको थियो । उहाँले औद्योगिक विकासका लागि स्थानीय स्तरबाटै समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले रुपन्देही जिल्ला देशकै औद्योगिक विकासमा अग्र स्थानमा रहेको बताउँदै जिल्लाको हरेक स्थानीय तहका श्रोत र साधनको समुचित परिचालन गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराउनु भएको थियो । संस्थाले उद्योग स्थापना र संरक्षण, उद्यमशिलता, विकास, रोजगारी श्रृजना, शिपशुक्त जनशक्ति उत्पादन, औद्योगिक ग्राम निर्माण, कृषिको व्यवसायिकरण, पर्यटन र प्रवद्र्धन, रोजगार, सूचना केन्द्र स्थापना लगायतका विषयहरु समेटेर ज्ञापन पत्र समेत बुझाएको हो । संघले लामो समयको कोरोना र लकडाउनले प्रभावित उद्योगहरु संकट ग्रस्त बन्दै गएको बताउँदै तिलोत्तमा नगरपालिकामा संचालनमा रहेका उद्योगहरुलाई विशेष राहत र सहुलियत प्रदान गर्नुपर्ने समेत नगरप्रमुखलाई ध्यानाकर्षण गराएको छ । अध्यक्ष बोहोराले औद्योगिक विकाससँग सम्बन्धित गतिविधिहरु संचालनमा रुपन्देही उद्योग संघसँग समन्वय गर्न समेत आग्रह गर्नु भएको थियो ।
भेटघाटका क्रममा भएको छलफलमा बोल्नुहुँदै नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरले निर्माण भइरहेको औद्योगिक ग्राम शिघ्र संचालनमा आउने आश्वासन समेत दिनु भएको थियो । उहाँले रोजगारी अभिबृद्धिका लागि सिपयुक्त जनशक्ति तयार गर्न समेत तिलोत्तमा नगरपालिकाले कार्यक्रम अघि सारेको बताउनु भएको थियो । उहाँले औद्योगिक विकासमा निजी क्षेत्रसँग समन्वय गरी अघि बढ्ने बताउँदै नगरपालिकाले उद्योगीहरुलाई आदान प्रदान गर्न सक्ने छुट तथा सहुलियत उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । छलफलमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु एवं उद्योगी र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
रुपन्देही उद्योग संघले जिल्लाका १६ वटै स्थानीय तहमा औद्योगिक विकासका सन्दर्भमा अन्तक्र्रियाको आयोजन गर्ने कार्यक्रम बमोजिम तिलोत्तमा नगरपालिकामा छलफलको आयोजना गरेको हो । कोरोनाको असरले गर्दा सिमित व्यक्तिहरुको उपस्थितिमा मात्रै कार्यक्रमको आयोजना गरिएको समेत संघले जनाएको छ ।






















