स्थापनाको २६ वर्षपछि करहिया स्वास्थ्य चौकीको आफ्नै भवन

सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बन्दै गएको छ : नगर प्रमुख घिमिरे
खबरपथ संवाददाता
३ मंसिर २०७८, शुक्रबार ०८:०४

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्ष पछि ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नैं भवन निर्माण भए सँगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यस अघि स्वास्थ्य चौकी विभिन्न संघ—संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भए पछि आफ्नै भवन निर्माण गरिएको हो ।

स्थानीय बासिन्दाले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भए पछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो । शिलन्यास गर्नु भएका तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले नैं भवनको संयुक्त रुपमा उद्घाटन समेत गर्नु भएको छ ।


९ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत स्वास्थ्य चौकीमा खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय—कुष्ठ, विद्यालय तथा किशोर÷किशोरी शिक्षा, बिरामी परीक्षण, औषधि वितरण, प्रयोगशाला लगायतका प्रवद्र्धनात्मक र निदानात्मक सेवाहरु उपलब्ध छन् । स्वास्थ्य चौकीले वडा नं. ८ का अतिरिक्त वडा नं. ७, ९, ११ का बासिन्दालाई सेवा दिँदै आएको छ ।
भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले आधारभूत स्वास्थ्य सेवा नगरका सबै वडामा पुर्याइएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बन्दै गएकोले त्यसबाट लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीले बिरामीको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउँदै सकेसम्म रोग लाग्नै नदिन सबै जना सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
नगर प्रमुख घिमिरेले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट प्रवाह हुने सेवा हिजो भन्दा राम्रो भएको अनुभुति दिने गरी काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । विगतमा सरकारी स्वास्थ्य क्षेत्रमा केही बेथिति भए पनि जनप्रतिनिधि आइसकेपछि अनुगमन पश्चात स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको उहाँको भनाइ छ ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै यसमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष लक्ष्मण खनाल, वडाध्यक्ष कृष्ण पौडेल, स्वास्थ्यकर्मीहरु ईश्वरीप्रसाद पाण्डेय, कृष्णकुमारी पाण्डेय, बाल क्लवकी वडा संयोजकलगायतले बोल्नु भएको थियो ।
यसैबीच भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करहिया स्वास्थ्य चौकीलाई इमरजेन्सी रिलिफ बेड सहयोग गरेको छ । प्रतिष्ठानले स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा २ थान बेड हस्तान्तरण गरेको हो । प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी र वडाअध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेललाई उक्त बेड हस्तान्तरण गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*