पश्चिमी वायुको प्रभावले आइतबारसम्म हल्का वर्षा हुने र चिसो बढ्ने
काठमाण्डौं । बुधबार बेलुकादेखि पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ । बागमती प्रदेशका धेरैजसो स्थानमा बादल लागिरहेको छ र देशका बाँकी स्थानमा मौसम आंशिक देखि सामान्य सम्म बदली रहेको मौसमविद् सजना शाक्यले बताउनु भयो । मौसमबिद शाक्यका अनुसार अहिले सुदूपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ र यो क्रम आइतबार सम्म रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशमा सामान्य वर्षा भइरहेको मौसमविद् सजना शाक्यले बताउनु भयो । अहिले सुदूपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ,’ शाक्यले भन्नु भयो यो क्रम आइतबारसम्म रहन्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी वायु) नेपाल प्रवेश गर्दै गरेको र यो आइतबारसम्म रहने हुन्छ । मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको यो प्रणाली क्रमशः पूर्व हुँदै शनिबार राति या आइतबार बिहानसम्म देशभर फैलन्छ ।
महाशाखाका अनुसार आज बिहान १०.११ बजेदेखि साँझ ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
आज राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
अहिले काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम घटेको र जाडो बढेको छ । यो क्रम आइतबारसम्म रहने शाक्यले जानकारी दिनुभयो । हाल काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम ८.२ डिग्री सेल्सीयस रहेको छ ।





















