बगनासकालीमा सहिद स्मृति कार्यक्रम

भोजराज भट्टराई
१६ माघ २०७८, आईतवार २१:०६

पाल्पा । सहिद सप्ताहको अन्तिम दिन आज बगनासकाली गाउँपालिका सभाहलमा ज्ञात अज्ञात सहिदहरूको सम्झना गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समितिका सदस्य, गाउँकार्यपालिकामा कार्यरत कर्मचारीहरूले सहिदहरूको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभयो । कोभिड संक्रमणका कारण यस वर्ष पालिकामा उपलब्ध कर्मचारी र जनप्रतिनिधिबीच संक्षिप्त कार्यक्रम गरिएको बगनासकाली गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले राज्यको पहुँचबाट पछाडि परेका समुदाय र जनताको स्वतन्त्रताको लागि प्राणको आहुति दिने व्यक्तिहरू नै सच्चा सहिद भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीले फेरिदो व्यवस्थामा जनअपेक्षा अनुसार कार्यसम्पादन गर्न सकेमा सहिदप्रतिको सम्मान झल्किने धारणा राख्नुभयो ।


सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहिदले देखेका सपना पूरा गर्ने जिम्मेवारी सवैको भएकाले स्थानीय सरकारले सहिदको सम्झनामा वार्षिक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सहिदको योगदानलाई दिवसमा मात्र नभई सधैं सम्झना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले विशेष अवसरमा सहिदप्रति सम्मान दर्शाउन सकेमा परिवर्तनका निम्ति ज्यान गुमाउनेहरूप्रति सच्चा सद्भाव झल्किने बताउनुभयो । उहाँले प्रजातन्त्र लोकतन्त्र प्राप्तिका लागि आन्दोलनहरूमा धेरै व्यक्ति सहिद भएको स्मरण गराउनु भयो । न्यायिक समिति सदस्य कुल प्रसाद ढुंगानाले सामाजिक, आर्थिक परिवर्तनका लागि सहिदको सपना र योगदानलाई आत्मसाथ गर्दै जनप्रतिनिधि र कर्मचारीले जनपक्षिय कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जहाँनिया राणा शासनको अन्त्य गर्नमा सहिदहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा गाउँपालिकाका एम.आइ.एस.अपरेटर भोजराज भट्टराईले सहिद स्मृति सम्बन्धी संक्षिप्त जानकारी राख्दै सहिदको योगदानको कारण नेपालमा विभिन्न समयमा शासन व्यवस्था फेरिएको बताउनुभयो । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताको पक्षमा निर्भिक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनिहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको कार्यक्रमका अवसरमा भट्टराईले स्मरण गराउनुभयो । सहिद स्मृति कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता र शाखा अधिकृत सुजन घिमिरेको सञ्चालनमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*